बागधुरा । लिस्नु युवा क्लब, कोटिहवा रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वाटरफाइनलतर्फ लिस्नुले सिद्धार्थ क्लब, चपरहट्टीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
सञ्जिवनी खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ सिद्धार्थका लागि तनिष गुरुङले गोल गरेका थिए भने लिस्नुका लागि सन्त थापाले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने लिस्नु ४–३ ले विजयी बन्यो । पेनाल्टी शुटआटमा विपक्षीका तीन प्रहार जोगाएका लिस्नुका गोलरक्षक युगल थापा मगर म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २२ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल अमुवा युवा क्लब, अमुवा र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।