बागधुरा । अमुवा युवा क्लब, अमुवा रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको तेस्रो क्वाटरफाइनलतर्फ अमुवाले बलियो प्रत्याशीका रुपमा आँकिएको झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ५–३ ले स्तब्ध बनाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
सञ्जिवनी खेलमैदानमा भएको खेलमा अमुवाका लागि बलराम न्यौपाने र सुजन जिसीले समान दुई–दुई गोल गरे भने थप एक गोल कप्तान अनिल क्षेत्रीले गरे । उता पराजित झरनाका लागि एलिस थापा, अशोक घर्ती मगर र आशमान क्षेत्रीले एक–एक गोल गरे । खेलमा अमुवाका सुजन जिसी म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २३ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक सञ्जिवनी युवा क्लब, बागधुरा र न्यु सृजना युवा क्लब, करौजियाबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।