धरान । मोफसलको प्रतिष्ठित मध्ये एक २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, धरान, सुनसरीले विजयी शुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा धरानले जर्जियन फुटबल क्लब, कालिम्पोङ, भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ जर्जियनका लागि हेमराज भुजेलले गोल गरेका थिए भने धरानका लागि तपन कार्कीले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने धरान ४–२ ले विजयी बन्यो ।
खेलमा धरानका गोलरक्षक बिपुल मगर म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै धरान क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २३ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल रोयल थिम्पु फुटबल क्लब, भुटान र झापा–११ फुटबल क्लब, झापा बीच हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथीका रुपमा उपस्थिति धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख आइन्द्र विक्रम बेगा लगायतले गरेका थिए ।