मिक्लाजुङ । प्रथम मिक्लाजुङ अध्यक्ष अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज सम्पन्न दोस्रो सेमीफाइनल खेलमा कानेपोखरी गाउँपालिकाले पथरी शनिश्चरे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। अब कानेपोखरीले फाइनल खेलमा उर्लाबारी नगरपालिकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
मिक्लाजुङ गाउँपालिका–४ स्थित सफेवा खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो। दुवै टोलीले सन्तुलित र प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि गोल हुन सकेन।
दोस्रो हाफमा खेलले रोमाञ्चक मोड लियो। खेलको ४८औँ मिनेटमा अभी लिम्बूले शानदार फ्रीकिकमार्फत गोल गर्दै कानेपोखरी गाउँपालिकालाई अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा संजय लिम्बूले शक्तिशाली फ्रीकिक गोल गर्दै पथरी शनिश्चरे नगरपालिकालाई खेलमा फर्काए र निर्धारित समय १–१ को बराबरीमा समाप्त भयो।
निर्धारित समय बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलियो। पेनाल्टी सुटआउटमा कानेपोखरी गाउँपालिकाले ४–३ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो।
खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै टाइब्रेकरमा दुई पेनाल्टी बचाएका कानेपोखरी गाउँपालिकाका गोलरक्षक विशाल बस्नेत ‘म्यान अफ द म्याच’ घोषित भए।
मिक्लाजुङ यूथ क्लब, मिक्लाजुङ गाउँपालिका–४, मोरङको आयोजनामा माघ १८ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल खेल माघ २५ गते हुनेछ।
प्रतियोगितामा विजेता टोलीले उपाधिसहित नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
विधागत पुरस्कारतर्फ सर्वश्रेष्ठ खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वाड तथा उत्कृष्ट प्रशिक्षकलाई जनही ३ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
