
बुटवल । रुपन्देहीमा सम्पन्न चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ स्टार एफसीले जितेको छ । फागुन १ गते शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा योङ स्टारले डिएमसी तुल्सीपुरलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो ।
तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको फाइनल खेलमा पहिलो हाफतर्फ २२औं मिनटमा फोडे फोफोनाले गरेको एक मात्र गोल योङ स्टारलाई च्याम्पियन बनाउन प्रर्याप्त बन्यो ।
विजेता बनेको योङ स्टारले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता डिएमसीले ५० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई पूर्व रक्षामन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, आयोजक सञ्जिवनी युवा क्लबका अध्यक्ष अर्जुन केसी, प्रतियोगिता संयोजक खिम थापा, आर्थिक संयोजक इन्द्र कुमार थापा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे ।
आकाश बुढा सर्वोत्कृष्ट खेलाडी
व्यक्तिगत विधातर्फ डिएमसीका आकाश बुढा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ताको पुरस्कार भने योङ स्टारका क्रमशः कुशल बिक र आशिष गुरुङले हात पारे ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही २ हजारसहित ट्रफी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच भने पराजित डिएमसीका शंकर राई घोषित भए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुराको आयोजनामा गत माघ १६ गतेदेखि शुरु प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै आयोजक अध्यक्ष अर्जुन केसीले प्रतियोगिता विभिन्न कठिनाइृका बावजुद सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद सहित आभार प्रकट गरे । साथै उनले आगामी संस्करणहरुमा पनि थप स्वस्थ मनोरञ्जन र समाजमा खेलकुदको माध्यमबाट सकरात्मक सन्देश फैलाउँदै प्रतियोगितालाई भव्यताका साथ आयोजना गर्ने समेत बताए ।