काठमाडौं । दश खेलाडीमा सिमित भएर पनि रानीपोखरी कर्नर टिम (आरसिटी) ले जारी शहिद स्मारक बी डिभिजन लिगमा नयाँ बस्ती युथ क्लब विरुद्ध ४–२ को प्रभावशाली जित हात पारेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको छैटौं मिनटमै अजित गुरुङले आरसिटीका लागि गोलको खाता खोलेका थिए । तर १९औं मिनटमा गणेश हमालले नयाँ बस्तीका लागि बराबरी गोल फर्काउन सफल भए ।
खेलको ५०औं मिनटमा नयाँ बस्तीले खेलमा अग्रता बनाएको थियो । तर लगतै ६७औं मिनटटमा सुरेन खवासले आरसिटीका लागि दोस्रो बराबरी गोल फर्काए । त्यसको केही मिनट लगतै आरसिटीका आशिष चापागाईंले सोझो रातो कार्ड खाँदा टोली दबामा पर्न पुगेको थियो ।
तर खेलमा जुझारु प्रदर्शन गरेको आरसिटीका लागि ८३औं मिनटमा विश्व थापाले तेस्रो गोल गरे भने त्यसको तीन मिनट लगतै अजित गुरुङले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आरसिटीको प्रभावशाली जित पक्का गरे । आरसिटीका गुरुङ खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
यो जितसँगै ७ खेलबाट ९ अंक जोडेको आरसिटी लिगतालिकाको छैटौं स्थानमा छ । र लिगलिडर सातदोबाटो युथ क्लब भन्दा ७ अंकले पछाडी छ । उता पराजित नयाँ बस्ती भने ७ खेलबाट ११ अंकका साथ पाँचों स्थानमा छ ।
ब्वाईज युनियनको पनि सहज जित
बिहीबार सम्पन्न दोस्रो खेलमा डिभाईन ब्वाईज युनियन क्लबले झम्सीखेल युथ क्लबमाथि ४–० को जित निकाल्यो । यो जितसँगै ७ खेलबाट ११ अंक जोडेको ब्वाईज युनियन लिगतालिकाको चौथो स्थानमा छ । उता पराजित झम्सीखेल भने ६ अंकका साथ नवौं स्थानमा छ ।
(तस्विरः एन्फा)
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न