News पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
गोलनेपाल

कैलारी । कैलालीको कैलारी गाउँपालिका–४, के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतबार पुरुष र महिलातर्फका पहिलो सेमिफाइनल खेल सम्पन्न भएका छन्। ईलाईट युवा क्लब, वनकट्टा पुरुषतर्फ फाइनलमा पुग्दा न्यू कालिका युवा क्लब, पुनर्वास महिलातर्फको फाइनलमा स्थान बनाएको छ।

पुरुषतर्फ नमोबुद्ध युवा क्लब, धनगढीविरुद्ध ईलाईटले २–० को जीत निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फागुराम थारूले ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ७०औँ मिनेटको अतिरिक्त समयमा भरत टमटाले दोस्रो गोल थपे। फागुराम थारू खेलको उत्कृष्ट खेलाडी घोषित भए।

महिलातर्फ वनदेवी समन्वय युवा क्लब, कैलारी, कैलालीलाई ३–१ ले पराजित गर्दै न्यू कालिका युवा क्लब, पुनर्वास, कञ्चनपुरले प्रभावशाली प्रदर्शन गर्यो। विविशा बिष्टले १७औँ र २४औँ मिनेटमा दुई गोल गरिन्। कप्तान मंगला बयडीले २७औँ मिनेटमा अग्रता थपिन्। वनदेवीकी पूजा चौधरीले ७०औँ मिनेटको अतिरिक्त समयमा सान्त्वना गोल फर्काइन्। विविशा बिष्ट खेलको उत्कृष्ट खेलाडी घोषित भइन्।

सोमबार महिलातर्फ दोस्रो सेमिफाइनलमा दिउँसो १:३० बजे घोडाघोडी क्लब, घोडाघोडी र सुर्मादेवी युवा क्लब, धनगढीबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ अन्तिम सेमिफाइनलमा दिउँसो ४ बजे सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढी र संघर्ष स्पोर्ट्स क्लब, मालाखेती आमनेसामने हुनेछन्।

न्यु युवा सुन्दर शक्ति क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ८ टोली सहभागी छन्। पुरुष विजेताले रु. १ लाख र उपविजेताले रु. ५० हजार, महिलातर्फ विजेताले रु. ४० हजार र उपविजेताले रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता भदौ २० देखि ३१ गतेसम्म सञ्चालन भइरहेको छ।

प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि., धनगढी–५, हसनपुर, कैलाली रहेको छ। कैलारी गाउँपालिका मुख्य प्रवर्द्धक तथा कैलारी गाउँपालिका–४ वडा कार्यालय सह–प्रवर्द्धक रहेका छन्। प्रतियोगिताको नारा “खेलकुद नै विकासको आधार हो” रहेको छ।

Post Comments