News त्रियुगा गोल्डकप शुरु, सलहेशको विजयी शुरुवात
गोलनेपाल

गाईघाट । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा शनिबारदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको 'त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता' भब्यताका साथ सुरु भएको छ। उद्घाटन खेलमा आयोजक गाईघाट फुटबल क्लब उदयपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै सलेश युवा क्लब, सिराहाले विजयी सुरुवात गरेको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयोजक गाईघाट फुटबल क्लबले सुरुवाती दबाब कायम राखेको थियो। खेलको पहिलो हाफमा गाईघाटका अर्जुन रानाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफमा सलेश युवा क्लबले रणनीति परिवर्तन गर्दै उत्कृष्ट पुनरागमन गर्‍यो। दोस्रो हाफको खेलमा सलेशका आदित्य शाक्यले पेनाल्टीको सुनौलो अवसर गुमाए पनि टोलीले आस मारेन। त्यसको केही बेरमै सलेशका विज्ञान खड्काले सानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको अन्तिम समयमा अभिषेक लिम्बुले निर्णायक (विनिङ) गोल गर्दै सलेश युवा क्लबलाई महत्वपूर्ण जित दिलाए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सलेश युवा क्लबका दोर्जे तामाङ 'म्यान अफ द म्याच' घोषित भए। उनले नगद रु. ७ हजार ५ सय प्राप्त गरे।

त्यसअघि त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा निर्णायक रेफ्रीलाई 'म्याच बल' हस्तान्तरण गरी प्रतियोगिताको विधिवत् उद्घाटन गर्नुभएको थियो।

त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको समन्वय र उदयपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिताको विजेताले नगद रु. ५ लाख र उपविजेताले रु. ३ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरूले जनही १०–१० हजार र 'मोस्ट भ्यालुएबल प्लेयर'ले नगद २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

Post Comments
Advertisement Yamaha Nepal