मानेभन्ज्याङ । सङ्खुवासभाको खादबारी नगरपालिका ३ मानेभन्ज्याङमा जारी सङ्खुवासभा गोल्डकपमा सङ्खुवासभाको लोहोरूङ एफसी पाङमा र सेकाहा एफसी खॉदबारी सेमिफाइनलमा प्रवेश गरेका छन ।
मंगलबार महेन्द्र मा.विको खेल मैदानमा सम्पन्न गोल्डकपको तेस्रो क्वाटर फाइनलमा सिराहाको सलहेस युवा क्लबलाई सडन डेथमा ६-५ गोलले पराजित गर्दै लोहोरूङ एफसी पाङमा सङ्खुवासभा सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुबै टिमबाट दुइ दुइ गोलको बराबरी पछि खेल पेनाल्टि सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि चार चार गोलको बराबरी भएसँगै नतिजा सडन डेथ मार्फत निकालिएको हो । खेलको प्लेयर अफ दि म्याच लोहोरूङका गोल रक्षक प्रमिजय गच्छादार घोषित भए ।
त्यस्तै मंगलबार नै सम्पन्न अन्तिम क्वाटर फाइनलमा झापा एघारलाई २-० गोलले पराजित गर्दै सेकाहा सामुदायिक क्लब खाँदबारी सेमिफाइनल पुगेको हो ।
सेकाहाका लागि दुबै गोल मिलन लिम्बुले गरे । उनै मिलन प्लेयर अफ दि म्याच घोषित भए । दुबै खेलका प्लेयर अफ दि म्याचले पॉच पॉच हजार प्राप्त गरे ।
कार्तिक २० गते सम्म सन्चालन हुने गोल्डकपको विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रूपैया प्राप्त गर्नेछ ।
सर्वोकृष्ट खेलाडीले १० हजार रूपैया र विधागत उत्कृष्ट खेलाडीहरूले जनही सात सात हजार रूपैया प्राप्त गर्ने गोल्डकपका संयोजक जिल्लामान राइले जानकारी दिए ।