News मकवानपुर गोल्डकप फाइनलः उपाधि जित्ने आयोजक र आर्मीको दावी
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति तेस्रो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ ।

फाइनलमा साविक विजेता आयोजक मकवानपुर ११ ले दावेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लवसंग खेल्दैछ । दुवै क्लवले उपाधि जित्ने दावी समेत गरेका छन् ।

फाइनल भिडन्तको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक, म्यानेजर तथा कप्तानले स्थानीय तह गोल्डकप फुटबलको उपाधि जित्ने दावी गरेका हुन् ।

आर्मीका म्यानेजर चुनबहादुर थापाले मकवानपुर ११ आयोजक टिम राम्रो भएपनि आफुहरुले जित हात पार्ने दावी गरेका छन् । सेमीफाइनलमा क्यामरुनको टोलीलाई जितेपछि खेलाडीको हौसला बढेको उनको बुझाई छ । आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले फरेष्ट्रीको खेल मैदानमा यसअघि पनि फाइनल खेलिसकेको स्मरण गर्दै उनले उपाधि जित्ने दावी गरे ।

उता मकवानपुर ११ का प्रशिक्षक विजयलाल श्रेष्ठले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रलाई हराउँदै फाइनल प्रवेश गरेको आफ्नो टोली उपाधि जित्न सक्षम रहेको दावी गरे ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले रोयल एनफिल्ड बुलेट मोटरसाइकल प्राप्त गर्नेछ ।

Post Comments