
काठमाडौं । नेपाल मै पहिलोपटक आयोजना हुन गईरहेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जसमा राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठ, तेज तामाङ, सुनिल बल सहित आठ खेलाडीहरु २ लाखको सर्वाधिक महँगो मुल्यमा बिक्री भएका छन् ।
सुजललाई पोखरा थण्डर्सले २ लाख तिरेको हो । सुजल बाहेक पोखराले दिप कार्कीलाई पनि २ लाखमा किनेको छ । पोखराको ेमार्की खेलाडी भने नवयुग श्रेष्ठ रहेका छन् ।
त्यस्तै तेज तामाङलाई काठमाडौं रेजर्स एफसीले दुई लाखमा किन्यो । रेजर्सको मार्की खेलाडी भने गोलरक्षक बिकेश कुथु रहेका छन् । काठमाडौंले त्रिदेव गुरुङ र संजोग राईका लागि पनि १–१ लाख खर्चियो ।
त्यसैगरी सुनिल बललाई बिराटनगर सिटी एफसीले २ लाखमा किनेको छ । बिराटनगरको मार्की खेलाडीमा रन्जित धिमाल छन् । बिराटनगरले त्यसबाहेक सन्तोष तामाङ र सरोज दाहालका लागि पनि १–१ लाख खर्चियो ।
त्यस्तै एफसी चितवनले बिशाल सुनार र बिकास खवासलाई २–२ लाखमा किन्यो । चितवनको मार्की खेलाडी भने भरत खवास रहेका छन् । चितवनले बिकास तामाङका लागि पनि १ लाख खर्चियो ।
धनगढी एफसीले दिनेश राजवंशीका लागि २ लाख खर्चिएको छ । धनगढीको मार्की खेलाडी भने बिशाल राई बी रहेका छन् । धनगढीले त्यसबाहेक निशान खड्का र दर्शन गुरुङका लागि १–१ लाख खर्चिएको छ ।
त्यसैगरी ललितपुर सिटी एफसीले एरिक बिष्टका लागि २ लाख खर्चेको छ । ललितपुरको मार्की खेलाडीमा अन्जन बिष्ट छन् । त्यसबाहेक ललितपुरले अर्पन कार्की र पल्सङ लामाका लागि १–१ लाख खर्चेको छ ।
अक्सनमा कुल १४९ खेलाडी
शुक्रबार सम्पन्न अक्सनमा कुनल १४९ खेलाडीहरु सामेल थिए । ती खेलाडीहरुलाई ए, बी र सी श्रेणीमा छुट्याइएको थियो । जसमध्ये कुल ९८ खेलाडीहरु बिक्री भए ।
ए श्रेणीमा रहेका राष्ट्रिय टोलीका पूर्व कप्तान बिराज महर्जन, रवि पासवान, जर्ज प्रिन्स कार्की, हेमन्त थापा मगर सहित ९ खेलाडीहरु बिकेनन् । नबिकेका ९ मध्ये दुई खेलाडीलाई विसलिस्टमा फ्रेञ्चाईजले लिए भने अन्य बिक्न असफल भए । नबिक्नेमा छिरिङ गुरुङ, दिलन लोक्तन र सुवास गुरुङ पनि छन् ।
लिगमा सहभागि हुने कुल सात टोलीहरुले १४–१४ खेलाडीहरु अनुवन्ध गरेका थिए । स्मरण रहोस, आउँदो बैशाख ११ देखि २५ गतेसम्म हुने सुपर लिगमा देशका विभिन्न शहरको फ्रेञ्चाईज टोलीहरुले सहभागिता जनाउने छन् ।
नेपाल ूस्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजना हुन गईरहेको लिगमा कुल १९ खेलहरु हुनेछन् । साथै लिगका सबै खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछन् ।