काठमाडौं । शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै त्रिभुवन आर्मी फुटबल क्लब प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।
बुधबार दशरथ रंगशालामा सम्पन्न पहिलो चरणको खेलमा आर्मीले श्रीलंका पुलिस एससीमाथि ५–१ को प्रभावशाली जित निकाल्यो । यद्यपि खेलमा शुरुवाती अग्रता भने श्रीलंका पुलिसले लिएको थियो ।
खेलको २७औं मिनटमा इभान्स असन्तेले बक्स भित्रबाट गरेको सटिक प्रहार गोलमा परिणत हुँदा आर्मी खेलमा पछि पर्न पुगेको थियो । तर आर्मीले पहिलो हाफ मै उत्कृष्ट पूनःरागमन गर्यो ।
खेलको ४०औं मिनटमा सन्तोष तामाङले बक्स बाहिरबाट गरेको आकर्षक प्रहार गोलमा परिणत हुँदा आर्मी खेलमा फर्किएको थियो । त्यसको तीन मिनट लगतै नवयुग श्रेष्ठले हेड गोल गर्दै आर्मीलाई खेलमा २–१ को स्थितिमा पुर्याए ।
पहिलो हाफसम्म २–१ को अग्रता बनाएको आर्मीका लागि दोस्रो हाफ शुरु भए लगतै ४९औं मिनटमा टंक बस्नेतले तेस्रो गोल थपे । दोस्रो हाफमा थप सुधारिएको प्रदर्शन गरेको आर्मीका लागि ८३औं मिनटमा सुदिल राईले चौथो गोल थपे भने अन्तिमतिर नवयुग श्रेष्ठले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै आर्मीको शानदार जित पक्का गरेका थिए ।
आर्मीले अब प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेल १४ अप्रिलका दिन चर्चित भारतीय क्लब बैंगलुरु एफसीसँग खेल्नेछ । जुन खेल जित्न सफल भए आर्मी प्ले अफका लागि छनौट हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै