News बंगलादेशको हार, भारतसँग किर्गिस्तान पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ दुई दक्षिण एसियाली राष्ट्रहरु मध्ये बंगलादेशले फराकिलो हारको सामना गर्दा भारतले भने जित हात पारेको छ ।

समूह डी मा रहेको बंगलादेशले आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानसँग ६–० को हार बेहोर्यो । स्मरण रहोस, उज्वेकिस्तान आगामी बर्ष हुने एएफसी यु–२३ एसियन कपको आयोजक राष्ट्र समेत हो ।

यसअघि बंगलादेशले आफ्नो पहिलो खेलमा कुवेतसँग १–० को हार बेहोरेको थियो । बंगलादेशले समूह चरणको अनितम खेलमा नोभेम्बर २ तारीखका दिन साउदी अरबसँग खेल्नेछ । त्यस्तै शनिबार नै भएको समूह डी कै अर्को खेलमा कुवेतले साउदी अरबलाई २–१ ले हरायो र एएफसी यु–२३ एसियन कपका लागि छनौट भयो ।

भारतको दोस्रो जित, छनौट हुने सम्भावना कठिन

त्यस्तै छनौट प्रतियोगितातर्फ समूह ई मा रहेको भारतले आफ्नो अन्तिम खेलमा आयोजक किर्गिस्तानलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यद्यपि समूहबाट दोस्रो हुने टोलीको पनि छिनोफानो गर्नुपर्ने भएपछि दुवै टोलीले पेनाल्टी शुटआउट खेलेका थिए । जसमा भारत सफल भयो । यो जितसँगै भारत ४ अंकका साथ समूह ई को दोस्रो स्थानमा रह्यो । समान अंक जोडे तापनि किर्गिस्तान तेस्रो स्थानमा रहन पुग्यो ।

त्यसैगरी शनिबार नै भएको समुह ई को अर्को खेलमा आयोजक युएईले ओमानलाई २–० ले हरायो र ६ अंकका साथ शिर्ष स्थानमा रहेर आगामी बर्ष हुने एएफसी यु–२३ एसियन कपमा स्थान बनाउन सफल भयो । ३ अंक मात्र जोडेको ओमान भने पुछारमा रह्यो ।

समूह ई मा भारत दोस्रो स्थानमा रहे तापनि उत्कृष्ट दोस्रो स्थान हासिल गरेर प्रतियोगिताको अन्तिम चरणका लागि छनौट हुने सम्भावना न्युन रहेको छ । भारतले आफ्नो पहिलो खेलमा ओमानलाई हराएको थियो । यद्यपि ओमान भने समूहको पुछारमा छ ।

१० बेस्ट सेकेण्ड प्लेस टिमको सूचीमा पनि भारत नवौं स्थानमा छ । उत्कृष्ट दश मध्ये शिर्ष चार सेकेण्ड प्लेस हात पार्ने टोलीले मात्र आगामी बर्ष हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ ।

Post Comments