News मनाङ र आर्मीको दावेदारीता कायमै
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगका दुई हेभिवेट मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आ–आफ्नो दावेदारीता कायम राखेका छन् ।

शुक्रबार चौथो चरणको शुरुवाती दुई खेलमा जित हात पारेका मनाङ र आर्मी क्रमशः शिर्ष र दोस्रो स्थानमा पुगेका छन् । दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङले फ्रेण्डस क्लबलाई २–० ले हरायो ।

मनाङका लागि पहिलो हाफको ४१औं मिनटमा आफिज ओलावालेले पहिलो गोल गरे भने दोस्रो हाफको ७३औं मिनटमा दिनेश राजवंशीले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा मनाङका आफिज ओलावाले म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै विजयी टोली मनाङले म्याच मनी वापत ५० हजार पनि प्राप्त गर्यो ।

यो जितसँगै मनाङ ४ खेलबाट १० अंकका साथ शिर्ष स्थानमा उक्लेको छ । पराजित फ्रेण्डस भने मात्र २ अंक जोड्दै १२औं स्थानमा छ । जारी लिगमा फ्रेण्डस अहिलेसम्म जितविहीन छ ।

आर्मीलाई पनि समान अन्तरको सफलता

शुक्रबार नै भएको दोस्रो खेलमा आर्मीले च्यासल युथ क्लब माथि समान २–० को जित निकाल्यो । आर्मीका लागि १९औं मिनटमा जर्ज प्रिन्स कार्की र ३६औं मिनटमा जगजित श्रेष्ठले गरेको दुई गोल नै विभागीय टोलीलाई तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।

खेलमा आर्मीका जगजित श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । साथै विजयी बनेको आर्मीले म्याच मनी वापत ५० हजार पनि हात पार्यो ।

यो जितपछि ४ खेलबाट ८ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ र लिगलिडर मनाङ भन्दा २ अंकले मात्र पछाडी छ । उता पराजित च्यासल भने ४ अंकका साथ नवौं स्थानमा छ ।

Post Comments