बुटवल । रुपन्देही जिल्ला लिगमा साविक विजेता झरना स्पोर्टस क्लबले शुक्रबार पहिलो जित हात पारेको छ । आफ्नो शुरुवाती दुई खेलमा लगातार हार बेहोरेको झरनाले शुक्रबार सौभाग्य युवा क्लबलाई २–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो ।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा झरनाका लागि सेठ परियार र रोहित सुनारले गोल गरे । उता पराजित सौभाग्यका लागि आवेश शाहीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा झरनाका कप्तान ओमप्रकाश थापा म्यान अफ द म्याच घोषित भए । यो जितसँगै ३ खेलबाट ३ अंक जोडेको झरना सातौं स्थानमा उक्लेको छ । पराजित सौभाग्य भने २ अंकका साथ आठौं स्थानमा छ ।
त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा उपाधिको दावेदार मध्ये एक गोर्खा ब्वाइज स्पोर्टस क्लबले डिएमसीलाई २–० ले हरायो । गोर्खा ब्वाईजको जितमा अंकित थापा र सुरज घलानले गोल गरे ।
खेलको म्यान अफ द म्याच भने गोर्खा ब्वाईज कै सरोज दर्लामी घोषित भए । यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको गोर्खा ब्वाईज ७ अंकका साथ दोस्रो स्थानमा छ । समान ७ अंक भएको फर्साटिकर युवा क्लब शिर्ष स्थानमा रहँदा सुनौलो संगम तेस्रो स्थानमा छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिग आगामी पुष १० गतेसम्म चल्नेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली लिग च्याम्पियन बन्नेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने