
कञ्चन । कपिलवस्तु–११ यहाँ जारी कञ्चन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा कपिलवस्तुले भैरव एफसी, नवलपरासीलाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
कञ्चन–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि ब्रिजेश बिस्ट र अरुण थारुले गोल गरे । उता पराजित भैरवका लागि विज्ञान गुरुङले एक मात्र गोल गरे । खेलमा भैरव एफसीका सनम तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार १ सय र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत फागुन १८ गते बुधबारको पहिलो सेमिफाइनल खेल एन्फा एकेडेमी, बुटवल र डिएमसी, तुल्सीपुर बीच हुने प्रचार प्रसार संयोजक टिका थापाले जानकारी दिए ।
हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियो बजारको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल खेल यहि फागुन २१ गतेका दिन हुनेछ ।