
दमक । संघर्षपुर्ण जितका साथ गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देही यहाँ जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार दमक स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको क्वाटरफाइनल भिडन्तमा गोर्खा ब्वाईजले दार्जिलिङ पुलिस क्लब, भारतलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको गोर्खा ब्वाईजले जितका लागि टाईब्रेकरसम्म संघर्ष गर्नुपर्यो ।
खेलको आठौं मिनट मै यानिकको गोलबाट गोर्खा ब्वाईजले खेलमा अग्रता बनाएको थियो । तर लगतै गोर्खा ब्वाईजका खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि दार्जिलिङ पुलिसले पेनाल्टीको अवसर पाएको थियो । जुन पेनाल्टी अवसरलाई १३औं मिनटमा दार्जिलिङ पुलिसका भाइचुङ राईले गोलमा परिणत गरेका थिए ।
प्रतियोगिता अन्तरगत चैत्र १३ गतेको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मानेभञ्ज्याङ फुटबल क्लब, भारतबीच हुने आयोजकले जनाएको छ ।
दमक नगरपालिका, दमक नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।