News एन्फा एकेडेमी बुटवल क्वाटरफाइनलमा
सुरज राना मगर

भैरहवा । एन्फा एकेडेमी, बुटवल यहाँ जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ एन्फा एकेडेमीले क्रिष्टियन एफसीलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको खेलमा एन्फा एकेडेमीका लागि सुवास बमले दुई गोल गरे भने सदिप भट्टराईले थप एक गोल गरेका थिए ।

खेलमा एन्फा एकेडेमीका दुई गोलकर्ता सुवास बम म्यान अफ द म्याच समेत घोषित भए । उनले ट्रफीसहित नगद १ हजार हात पारे । प्रतियोगिता अन्तरगत चैत्र १३ गते आइतबारको खेल कृषि क्याम्पस, पक्लिहवा र सिद्धार्थ एफसी, चपरहट्टी बीच हुने आयोजकले जनाएको छ ।

माछापुच्छ्रे एफसीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत्र २५ गतेका दिन हुनेछ ।

 

Post Comments