
काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ दक्षिण एसियाली राष्ट्र भारतले आफ्नो पहिलो खेलमा जित हात पार्दा श्रीलंकाले भने हार बेहोरेको छ ।
समूह डी मा रहेका भारतले कम्बोडियालाई २–० ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । समूह डी को आयोजक राष्ट्र समेत रहेको भारतका लागि दुवै गोल कप्तान सुनिल क्षेत्रीले गरे । कोलकाता स्थित साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा क्षेत्रीले पहिलो गोल १४औं मिनटमा पेनाल्टीबाट गरेका थिए भने दोस्रो गोल ६०औं मिनटमा गरेका थिए ।
भारतले आफ्नो आगामी खेल शनिबार अफगानिस्तानसँग खेल्नेछ । स्मरणीय छ, अफगानिस्तानले बुधबार नै भएको समूह डी को पहिलो खेलमा हङकङसँग २–१ ले पराजित भएको थियो । त्यस्तै शनिबार नै हङकङ र कम्बोडिया पनि आमने सामने हुनेछन् ।
उज्वेकिस्तानसँग हार्यो श्रीलंका
त्यस्तै अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंकाले बलियो तथा आयोजक उज्वेकिस्तानको हातबाट ३–० ले पराजित भएको छ । समूह सी मा रहेको श्रीलंकाले आफ्नो आगामी खेल शनिबार थाइल्याण्डसँग खेल्नेछ ।
थाइल्याण्डले बुधबार नै भएको समूह सी को पहिलो खेलमा अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्सलाई समान ३–० अन्तरले हराएको थियो । माल्दिभ्सले शनिबार नै उज्वेकिस्तानको सामना गर्नेछ ।