
काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा निराशाजनक प्रदर्शन गर्दै लज्जाजनक हार बेहोरेको छ । मंगलबार अबेर राती सम्पन्न इण्डोनेसिया विरुद्धको प्रतिष्ठाको भिडन्तमा नेपाल ०–७ ले पराजित हुन पुग्यो ।
नेपालले खेलको छैठौं मिनट मै पहिलो गोल खान पुगेको थियो । डिमास ड्रजादले हेडबाट सटिक गोल गर्दै इण्डोनेसियालाई खेलमा शुरुवाती अग्रता दिलाए । पहिलो हाफ कै ३६औं मिनटमा सुमन अर्यालले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा नेपाल पहिलो हाफबाटै दश खेलाडीमा सिमित हुन पुग्यो । र, दबाबमा पर्न पुग्यो ।
जसको फाईदा इण्डोनेसियाले उठायो । ४३औं मिनटमा वितान सुलेमानले इण्डोनेसियाको त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफको शुरुवाततिरै नेपालले दुई मिनटको अन्तरालमा दुई गोल खान पुग्यो । ५४औं मिनटमा फचुरुद्दिन अर्यन्तोले तेस्रो गोल गरे भने ५५औं मिनटमा सद्दिल रमदानीले चौथो गोल थपेका थिए ।
इण्डोनेसिया त्यति मै रोकिएन । ८०औं मिनटमा इल्कान बगोटले पाँचौं गरे भने लगतै ८१औं मिनटमा वितान सुलेमानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौं गोल गरे । एकपक्षीय नतिजा निकालेको इण्डोनेसियाका लागि ९०औं मिनटमा मार्सेलिनो फर्डिनानले सातौं गोल गरे । जुन गोल खेलको अन्तिम गोल पनि बन्न पुग्यो ।
यो जितसँगै ६ अंक जोडेको इण्डोनेसिया समूह ए को दोस्रो स्थानमा रहेर उत्कृष्ट उपविजेताका रुपमा एसियन कपका लागि छनौट भएको छ । स्मरण रहोस, मंगलबार राती नै कुवेतलाई ३–० ले हराएको जोर्डन पनि समूह ए बाट समूह विजेता बन्दै एसियन कपका लागि सोझै छनौट भईसकेको छ ।
३ अंक जोडेको आयोजक कुवेत र अंकविहीन नेपाल भने समूह चरणबाट बाहिरिएका छन् ।