
काठमाडौं । इण्डोनेसियामा यसै सिजनदेखि पेर्सिक केडिरी एफसीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लिजेण्ड रोनाल्डीन्हो विरुद्ध खेल्ने भएका छन् ।
इण्डोनेसियाको शिर्ष लिग शुरु हुन अझै केही साता बाँकी छ । पेर्सिकले भर्खरै इण्डोनेसियाको प्रतिष्ठित प्रेसिडेन्ट कप पनि खेलेको थियो । तर रोहितको टोली समूह चरणबाटै बाहिरिन बाध्य बनेको थियो ।
उता पेर्सिकले रोनाल्डीन्होसँग खेल्ने कुराको पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । रोनाल्डीन्हो विरुद्धको टोलीसँग पेर्सिकले २६ जुन (आइतबार) का दिन खेल्ने कार्यक्रम छ ।
रोनाल्डीन्होको इण्डोनेसिया कनेक्सन
ब्राजीलका लागि विश्वकप, कोपा अमेरिकादेखि लिएर व्यक्तिगत रुपमा प्रतिष्ठित बेलन डि ओर अवार्ड समेत जितिसकेका रोनाल्डीन्होले व्यवसायीक रुपमा पिएसजी, बार्सिलोना, एसी मिलान जस्ता क्लबहरुबाट खेलेको पनि धेरैलाई नै छ ।
उमेरले चार दशक (४२) पूरा गरेका रोनाल्डीन्होको खेल्ने शैली अहिले पनि उस्तै छ भन्नेहरु धेरै छन् । कसरी सम्भव भयो त रोनाल्डीन्होको इण्डोनेसिया आउने कुरा ? यसको कारण पनि रमाईलो छ ।
यसै सिजन इण्डोनेसियाको दोस्रो डिभिजन लिगा टु बाट शिर्ष लिग लिगा वानमा बढुवा भएको क्लब हो, रेन्स नुसनतारा एफसी । र यो क्लब चर्चित इण्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा छ ।
आफ्नो क्लब लिगा वानमा बढुवा भएपछि क्लबका यी दुई मालिकले आफ्ना समर्थकहरुलाई सरप्राईज दिने क्रममा गत मार्चको अन्तिमतिर फुटबल लिजेण्ड रोनाल्डीन्होलाई इण्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए ।
रोनाल्डीन्होको इण्डोनेसियाको यात्रा रेन्स नुसनताराका मालिकद्वयले आफ्ना समर्थकहरुसँग गरेको त्यहि वाचाको प्रतिफल पनि हो । रेन्सले रोहितको टोली पेर्सिक बाहेक एरेमा एफसी सम्मिलित ट्रफियो नामक म्याच खेल्ने कार्यक्रम छ ।
रोनाल्डीन्होसँग रेन्सले अन्य व्यवसायीक सम्झौता गर्ने सम्भावना पनि छ । तर त्यो सम्झौता खेलाडीका रुपमा वा अन्य के का रुपमा हुने हो, त्यो भने खुलाइएको छैन । रोनाल्डीन्हो शुक्रबार नै इण्डोनेसिया आइपुग्ने छन् । रोनाल्डीन्होको आगमनले भर्खरै शिर्ष लिगमा बढुवा भएको रेन्सका खेलाडीहरुमा थप आत्मबल बढ्ने विश्वास क्लबले लिएको छ ।
रोहितको खेल्ने सम्भावना
पेर्सिकले खेलेको पछिल्ला दुई खेलहरुमा रोहित चन्दले लगातार पहिलो रोजाई मै रहेर खेलेका छन् । र उनको प्रदर्शन सन्तोषजनक पनि रहेको क्लबले बताएको छ । यो अर्थमा रोहितले आइतबार रोनाल्डीन्हो सम्मिलित रान्स नुसनतारा विरुद्ध पनि खेल्ने सम्भावना बलियो छ ।
#TrofeoRonaldinho
— Persik Kediri (@persikfckediri) June 23, 2022
Persik Kediri akan melakoni laga Trofeo bersama Arema FC dan Rans Nusantara yang diperkuat Legenda Sepakbola Dunia, Ronaldinho.
🏆 Trofeo Ronaldinho
🗓 Minggu, 26 Juni 2022
🕞 20.30 WIB
🏟️ Stadion Kanjuruhan, Kab. Malang
LIVE#Djajati#PersikKediri pic.twitter.com/Rfc5BHK9vV