News बीवाइएससी आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
उमेश पुन

पोखरा । पाहुना टोली बीवाइएससी, मिनेसोटा, अमेरिका यहाँ जारी २२औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

मंगलबार मनाङ मस्र्याङ्दी क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै बीवाइएससी अन्तिम चारमा प्रवेश गरेको हो । १८औं मिनटमा प्रबिन बस्नेतले गरेको गोल नै बीवाइएससीलाई सेमिफाइनलमा स्थान बनाउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता बस्नेत नै खेलको म्यान अफ द म्याच चुनिए ।

मंगलबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । बीवाइएससीले दोस्रो सेमिफाइनलतर्फ पौष २१ गतेका दिन चर्च ब्वाईज युनाइटेडसँग खेल्नेछ । त्यस्तै पौष २० गते बुधबारको पहिलो सेमिफाइनल खेल साविक विजेता एपिएफ क्लब र संकटा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २३ गतेका दिन हुनेछ ।

Post Comments