News रडस रामपुरलाई ३०औं त्रिवेणी कपको उपाधि
गोलनेपाल

बैशीशहर । मंगलबार सम्पन्न लमजुङ जिल्ला कै प्रतिष्ठित र पुरानो मध्ये एक ३०औं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रडस रामपुर एफसी, चितवनले जितेको छ ।

त्रिवेणी रंगशालामा भएको रोमाञ्चक फाइनलमा रडसले बागमती युवा क्लब, सर्लाहीलाई पेनाल्टीमा ५–४ ले हराउँदै उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बागमतीका लागि अनिल रानाले गोल गरेका थिए भने रडस रामपुरका लागि सुरेश कुमालले गोल गरेका थिए ।

निर्धारित समय र थपिएको अतिरिक्त समयमा पनि नतिजा ननिस्किएपछि पेनाल्टी शुटआउटमा रडस रामपुरले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । विजेता बनेको रडस रामपुरले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता बागमतीले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ द म्याच रडस रामपुरका गोलरक्षक भविन्द मल्ल चुनिए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पनि रडस रामपुर कै सुरेश कुमाल बने । उत्कृष्ट गोलरक्षक बागमतीका रबिन बस्नेत चुनिए । प्रतियोगिताभरि समान २–२ गोल गरेका रडस रामपुरका सुरेश कुमाल, बागमतीका देवा गुरुङ र समाजकल्याणका अब्दुला सर्वाधिक गोलकर्ता बने ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार रकम भने तीन जनाले बाँडेका थिए । त्यस्तै फाइनल खेलको म्यान अफ द म्याचले नगद २५ सय प्राप्त गरेका थिए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष बिनोद गुरुङ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments