News आठौं हेटौडा राष्ट्रिय भेट्रान्स कप शुरु
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटौंडा भेट्रान्स क्लव, मकवानपुरको आयोजनामा मंगलबारदेखि शुरु आठौं हेटौडा राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भएका छन् ।

पहिलो दिन सिमरा, जोरपाटी, हेटौंडा ‘ए’ र एबीसी भेट्रान्स पोखराले जित हात पारे । पहिलो खेलमा सिमराले पशुपति भेट्रान्सलाई २–१ ले हरायो । पशुपतिको तर्फबाट मदन श्रेष्ठले सुरुवाती गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको छ । सिमराको तर्फबाट पूर्ण लामा र सोनुकुमार खत्रीले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सिमराका सोनुकुमार खत्री घोषित भए ।

त्यस्तै दोस्रो खेलमा जोरपाटी भेट्रान्सले पूर्वी चितवन भेट्रान्सलाई ५–० ले हरायो । जोरपाटीका लागि रमेश गुरुङले ह्याट्रिक गरे भने भेषराज लिम्बु र सागर थापाले एक–एक गोल गरे । ह्याट्रिककर्ता रमेश गुरुङ नै खेलको म्यान अफ द म्याच भए ।

दिनको तेस्रो खेलमा आयोजक हेटौडा भेट्रान्स (ए) ले गोर्खा भेट्रान्स सर्लाहीलाई १–० गोलले हरायो । हेटौडाको जितमा गजेन्द्र लामाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लामा नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यसैगरी अन्तिम खेलमा एबीसीले चितवन भेट्रान्सलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ एबीसीका लागि राजकुमार घिसिङले गोल गरे भने चितवनका लागि सुरेन्द्र चौधरीले गोल गरेका थिए । खेलमा एबीसीका गोलरक्षक खेम बहादुर गुरुङ म्यान अफ द म्याच चुनिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिईन् । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पौष २३ गतेका दिन हुनेछ ।

Post Comments