News एक्स, हेटौडा भेट्रान्स, एमएमसी र बानेश्वरको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी राष्ट्रिय भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा बुधबार दोस्रो दिन पनि चार खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा नागस्वती भेट्रान्सलाई हराउँदै एक्स भेट्रान्स पोखरा विजयी भएको छ ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा एक्स ३–२ गोलले विजयी भएको हो । खेलमा एक्स भेट्रान्सका दीपेन्द्र शाही म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा हेटौडा भेट्रान्स सुपरले वीरगञ्ज भेट्रान्स, पर्सालाई टाइब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी नै खेलेका थिए । खेलमा वीरगञ्जका ऋतुकुमार शाक्य म्यान अफ द म्याच चुनिए ।

दिनको तेस्रो खेलमा बीरगञ्ज सिटीलाई ०–२ ले हराउँदै एमएमसी काठमाडौं विजयी भएको छ । एमसीसीको जितमा प्रकाश राना मगर र शिशिर बहादुर हमालले गोल गरे । खेलमा एमएमसीका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी दिनको अन्तिम खेलमा बानेश्वर भेट्रान्सले अभिषेक चर्चलाई पेनाल्टी शुटआउटमा ७–६ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

हेटौडा भेट्रान्स क्लब, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २३ गतेका दिन हुनेछ ।

Post Comments