News पाँचौं बागमती गोल्डकप शुरु, जावलाखेलको शानदार शुरुवात
बिक्रम बानियाँ क्षेत्री

झुरझुरे । आइतबारदेखि शुरु पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब, ललितपुरले शानदार शुरुवात गरेको छ ।

उद्घाटन खेलमा जावलाखेलले बागमती गाउँपालिका खेलकुद विकास समितिमाथि शून्यका विरुद्ध ५ गोलको फराकिलो जित हात पार्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।

फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको खेलको दोस्रो मिनट मै सुनिल खड्काको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १७औं मिनटमा समिरराज थोकरले त्यो अग्रता दोब्बर बनाए ।

खेलमा एकपक्षीय पकड बनाएको जावलाखेलका लागि हिसुव थपलियाले ६५, ७० र ७२औं मिनटमा लगातार तीन गोल गर्दै प्रतियोगिता कै पहिलो ह्याट्रिक गरे भने जावलाखेललाई पनि शानदार जित दिलाए ।

ह्याट्रिककर्ता हिसुव थपलिया म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । यो जितसँगै जावलाखेल प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत पौष २५ गते सोमबारको खेल मकवानपुर–११ र नेपाल पुलिस क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी थिईन् ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ ३ गतेका दिन हुनेछ ।

Post Comments