
काठमाडौं (एजेन्सी) । आउँदो मई २० देखि ११ जुनसम्म हुने भनिएको फिफा यु–२० विश्वकपको २३औं संस्करणको आयोजना अधिकार एसियाली राष्ट्र इण्डोनेसियाबाट खोसिएको छ । प्रतियोगितामा इजरायलको सहभागितालाई लिएर इण्डोनेसियामा विवाद र प्रदर्शनले चर्को रुप लिएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सो निर्णय गरेको हो ।
स्मरण रहोस, प्रतियोगिताको फाइनल ड्र पनि गत शुक्रबार इण्डोनेसियन शहर बालीमा हुने कार्यक्रम थियो । यद्यपि त्यो फाइनल ड्र कार्यक्रम पनि रद्द भएको छ । इण्डोनेसियाले पहिलोपटक विश्व युथ फुटबलको प्रतिष्ठित प्रतियोगिता आयोजना गर्ने अवसर पाए तापनि अब तयो अवसर पनि गुमाएको छ ।
सन् २०१९ मा इण्डोनेसियाले फिफा यु–२० विश्वकप आयोजना अधिकार पाउँदा त्यतिबेला इजरायल प्रतियोगितामा छनौट भईसकेको थिएन । इण्डोनेसियामा हाल प्यालेस्टाईनको समर्थनमा इजरायल विरुद्ध प्रदर्शन भईरहेको छ । यही अवस्थालाई गम्भिरताका साथ लिएर फिफाले यो निर्णय लिइएको बताइएको छ ।
अब यो प्रतियोगिता अन्य देशमा हुने निश्चित भएको छ । यद्यपि अर्को आयोजक राष्ट्रबारे अहिले नै निर्णय भईसकेको छैन । यो प्रतियोगिता खासगरी सन् २०२१ मा हुने कार्यक्रम थियो । तर कोरोना महामारीका कारण सन् २०२३ का लागि सारिएको थियो ।
प्रतियोगितामा कुल २४ टोलीहरुले सहभागिता जनाउने तय भईसकेको छ । युक्रेन प्रतियोगिताको साविक विजेता समेत हो । तर युक्रेन यसपटकको फिफा यु–२० विश्वकपमा भने छैन ।
Indonesia has been stripped of the right to host this year's men's Under-20 World Cup, FIFA said.
— ESPN FC (@ESPNFC) March 29, 2023
More: https://t.co/YCG3PVm70W pic.twitter.com/WV03xYF7F4