News मच्छिन्द्र र एनआरटीको जित, आर्मी रोकियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगततर्फ आइतबार भएका तीन खेलहरु मध्ये शुरुवाती दुई खेलहरुमा मच्छिन्द्र फुटबल क्लब र न्युरोडटिम (एनआरटी) ले महत्वपूर्ण जित हात पारेका छन् भने त्रिभवन आर्मी फुटबल क्लब बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले बलियो संकटामाथि २–१ को जित निकाल्यो । मच्छिन्द्रका लागि खेलको १८औं मिनटमै बिमल घर्ती मगरले पहिलो गोल गरेका थिए । यद्यपि त्यसको दुई मिनट लगतै संकटाका लागि मनिष डाँगीले बराबरी गोल फर्काउन सफल भएका थिए ।

त्यस्तै रोमाञ्चक खेलको ४६औं मिनटमा ओलावाले आफिजले दोस्रो तथा निर्णायक गोल गर्दै मच्छिन्द्रको रोमाञ्चक जित पक्का गरेका थिए । लिगमा दोस्रो जित हात पारेको मच्छिन्द्र ७ खेलबाट ९ अंकका साथ लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । पराजित संकटाको पनि समान ९ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा सातौं स्थानमा छ ।

त्यसैगरी आइतबार नै भएको अर्को खेलमा एनआरटीले लिगमा पहिलो जित दर्ता गर्ने क्रममा हिमालयन शेर्पा क्लबलाई २–१ ले हरायो । एन्फा कम्प्लेक्स्मा सम्पन्न खेलको १४औं मिनटमै खामिर गिल्सन कान्दङ्वाको गोलबाट शेर्पाले खेलमा शुरुवाती अग्रता बनाए पनि पराजित हुन पुग्यो ।

एनआरटीले दोस्रो हाफमा पूनःरागमन गर्यो । ६६औं मिनटमा रोहन खड्गीले एनआरटीका लागि बराबरी गोल फर्काए । ८९औं मिनटमा जेनिश प्रजापतिले दोस्रो तथा निर्णायक गोल गर्दै एनआरटीको जित पक्का गरे ।

यो जितपछि ७ खेलबाट ६ अंक जोडेको एनआरटी १२औं स्थानमा छ । पराजित शेर्पाको पनि समान ६ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा एनआरटीलाई पछि पार्दै ११औं स्थानमा छ ।

दिनको अन्तिम खेलमा आर्मी र सातदोबाटो युथ क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । आर्मीका लागि खेलको तेस्रो मिनट मै जिलेस्पी जंग कार्कीले गोलको खाता खोलेका थिए । यद्यपि २४औं मिनटमा दिपक राज सिंह ठकुरीले सातदोबाटोका लागि बराबरी गोल फर्काए ।

३९औं मिनटमा जिलेस्पीले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई फेरि खेलमा अग्रता दिलाए । त्यो अग्रता पनि आर्मीले जोगाउन सकेन । सातदोबाटोका लागि सरदोरबेकले ४८औं मिनटमा दोस्रो गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए ।

प्रतिस्पर्धात्मक खेलको ५१औं मिनटमा दिपक गुरुङले आर्मीलाई तेस्रोपटक अग्रता दिलाए । तर त्यो अग्रता पनि गुमाउन पुग्यो । ८४औं मिनटमा विलियम ओपोकुले सातदोबाटोका लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि ७ खेलबाट १३ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा छ । उता आर्मी भने ९ अंकका साथ आठौं स्थानमा छ ।

Post Comments