
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार भएका २३औं चरणका दुई खेलहरुमा लिगलिडर चर्च ब्वाईज युनाइटेड र दोस्रो स्थानको टोली जावलाखेल युथ क्लबले जित हात पारेका छन् ।
दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा चर्च ब्वाईजले विभागीय टोली एपिएफ फुटबल क्लब विरुद्ध ४–१ को प्रभावशाली जित निकाल्यो । खेलको तेस्रो मिनट मै मौसम सुब्बाको गोलबाट चर्च ब्वाईजले खेलमा अग्रता बनाएको थियो ।
पहिलो हाफ कै अतिरिक्त समयमा अनन्त तामाङले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफ शुरु भएको केही मिनट लगतै ५४औं मिनटमा अनन्तले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे । उता ८२औं मिनटमा आवास लामिछानेले एपिएफका लागि एक गोल फर्काए तापनि टोलीलाई खेलमा फर्काउन सकेनन् ।
८८औं मिनटमा आशिष चौधरीले चर्च ब्वाईजका लागि चौथो गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे । यो जितपछि २३ खेलबाट ४१ अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा यथावत छ । पराजित एपिएफ भने २९ अंकका साथ सातौं स्थानमा छ ।
त्यस्तै दशरथ रंगशाला मै भएको दिनको पहिलो खेलमा जावलाखेलले त्रिभुवन आर्मी फुटबल क्लबमाथि २–० को जित निकाल्यो । जावलाखेलका लागि ५५ र ७८औं मिनटमा एन्कोटो मासोबीले गरेको दुई गोल नै आर्मीलाई निराश बनाउन पर्याप्त बन्यो ।
यो जितपछि २३ खेलबाट ३७ अंक जोडेको जावलाखेल दोस्रो स्थानमा छ । र, लिगलिडर चर्च ब्वाईभन्दा चार अंकले पछाडी छ । उता पराजित आर्मी भने ३० अंकका साथ पाँचौं स्थानमा छ ।