
धनगढी । मंगलबार सम्पन्न नेपाल आइस चौथो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले जितेको छ ।
धनगढी रंगशालामा भएको फाइनल भिडन्तमा सुदुरपश्चिम–११ ले बलियो आँकिएको रुस्लान थ्रीस्टार क्लबलाई १–० ले निराश तुल्याउँदै उपाधिमाथि कब्जा जमायो । सदुरपश्चिमका लागि खेलको २८औं मिनटमा बिक्रम सिंह ठकुरीले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको सुदुरपश्चिम–११ ले उपाधिसहित नगद २१ लाख १ रुपैयाँ हात पार्यो भने उपविजेता थ्रीस्टारले १० लाख १ रुपैयाँमा चित्त बुझायो ।
स्मरण रहोस, थ्रीस्टार साता दिनमा दोस्रोपटक उपविजेता बन्न बाध्य भएको हो । यसअघि गत साता मात्र झापामा सम्पन्न सताक्षी गोल्डकपको फाइनलमा पनि मच्छिन्द्रसँग पराजित हुँदै थ्रीस्टार उपविजेता बनेको थियो ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीको आयोजनामा यहि फागुन १३ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।