
हेटौडा । भुटनदेवी युवा क्लबको आयोजनामा भएको दोस्रो राष्ट्रिय भेट्रान्स कप एट ए साईड फुटबल प्रतियोगिता–२०७६ को उपाधि आयोजकले जितेको छ । हेटौंडा–४ हुप्रचौरमा मंगलबार सम्पन्न फाइनल खेलमा सडन डेथमा अभिषेक चर्च नवलपरासीलाई ५–४ ले पराजित गर्दै आयोजकले उपाधी जितेको हो ।
यसअघि निर्धारित ५०मिनेटको खेल गोलरहित टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा भुटनदेवीकोतर्फबाट राजकुमार घिसिङ, निमा लामा, कमल विष्ट, मदन लामा र सागर थापाले गोल गरेका थिए । उता अभिषेक चर्चको तर्फबाट रमेश गुरुङ, सुरज गुरुङ, सुकलाल तामाङ, शिवकुमारश्रेष्ठले गोल गरेका थिए । देवराज तामाङले गरेको प्रहारलाई भुटनदेवीका गोलरक्षक दिपक डंगोलले रोकेपछि आयोजक विजयी भएको हो ।
विजेता बनेको आयोजक भुटनदेवी युवा क्लबले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता अभिषेक चर्चले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल प्राप्त गर्यो । प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।
विधागततर्फ भुटनदेवीका आकाश कुमार तामाङ उत्कृष्ट प्रशिक्षक, राजकुमार घिसिङ सर्वाधिक गोलकर्ता, दिपक डंगोल उत्कृष्ट गोलरक्षक र सागर थापा सर्वाेकृष्ट खेलाडी घोषित भए ।
भुटनदेवी युवा क्लबका अध्यक्ष सबिन मुक्तानको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई हेटौडा उप–महानगरपालिकाका उपमेयर मिना लामा, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दिपक खड्का, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यलय प्रमुख राजन दाहाल ‘खुशराज’, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामालगायतले पुरस्कृत गरेका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा