News
देउरालीलाई तेस्रो सिरिजंघा गोल्डकपको उपाधि

तेल्लोक, (ताप्लेजुङ) । इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लबले ताप्लेजुङको तेल्लोकमा आयोजित तेस्रो सिरिजंघा गोल्डकपको उपाधि जितेको छ । तेल्लोक माविको खेलमैदानमा भएको फाइनल खेलमा साविक उपविजेता झापा बिर्तामोडको न्यू स्टार क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि रक्षा गरेको हो ।
इलामले पहिलोपल्ट उपाधि उचाल्न सफल भएको हो । खेलको २१औँ मिनेटमा आत्मघाती गोलको उपहारबाट इलामले सुरुवाती अग्रता बनाएको थियो । झापाका अभिषेक लिम्बूले पिकेश लोक्तामको प्रहार क्लियर गर्ने क्रममा आत्मघाती गोल भएको थियो । यस्तै, पिकेश लोक्तामले नै खेलको ४५औँ मिनेटमा फ्रिकिकमार्फत अग्रता दोब्बर बनाएका थिए । उनी खेलको सर्वोत्कृष्ट खेलाडी बन्दै नगद ५ हजार र ट्रफी पाउन सफल भए ।
तेल्लोक स्पोर्टिङ क्लबले त्येअंसी सिरिजंघा सिं थेवेको ३१९औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी थिए । विजेता इलामले नगद २ लाख २ हजार २२२ र ट्रफी पायो । दोस्रो संस्करणको उपविजेता बनेको झापाले यस वर्ष पनि उपविजेतामै सीमित हुँदै नगद १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ ।
विधागत पुरस्कार तर्फ झापाका कप्तान सनम राई उत्कृष्ट डिफेन्डर, झापाकै बिजु भुजेल सर्वाधिक गोलकर्ता तथा इलामका गोलरक्षक विवेक मगर उत्कृष्ट गोलरक्षक र इलामकै अर्जुन गुरुङ बेस्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही २ हजार ५ सयसहित ट्रफी पाए ।
Post Comments