News दोस्रो नव टिकुलीगढ कप शुरु, माछापुच्छ्रेको विजयी शुरुवात
सुरज राना मगर

टिकुलीगढ । ‘युवा एकता आजको आवश्यकता’ भन्ने नाराका साथ नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढ, रुपन्देहीको आयोजनामा स्व. गंगा देवी गुरुङ्ग स्मृति दोस्रो नव टिकुलीगढ कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा–१४ स्थित श्री टिकुलीगढ माविको खेलमैदानमा भएको उद्घाटन खेलमा माछापुच्छ्रे फुटबल क्लबले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा माछापुच्छ्रेले रेसुङ्गा फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा माछापुच्छ्रेका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पुस १३ गतेदेखि दुई खेलहरु सञ्चालन हुने खेल संयोजक बिनोद गुरुङले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वर देवी चौधरीले गरेकी थिईन् ।

आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments