
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा थ्रीस्टार क्लबलाई भएको अनुशासनको कारवाही अपुरो भएको भन्दै सो कारवाही विरुद्ध एन्फा कै अपिल कमिटीमा जाने भएको छ ।
गत जेठ महिनामा भएको शहिद स्मारक ए डिभिजन लिग म्याचको घट्नाक्रमपछि एन्फाको अनुशासन कमिटीले थ्रीस्टार क्लबको गल्ती ठहर गर्दै कारवाही गरे तापनि एपिएफले भने त्यो कारवाहीलाई अपुरो बताएको छ ।
ए डिभिजन लिग २०७९–८० अन्तर्गत अन्तिम तथा निर्णायक मानिएको खेलमा थ्रीस्टारले जावलाखेल विरुद्ध भिषा सकिएका दुई विदेशी खेलाडी खेलाएपछि त्यसले विवाद चर्किएको थियो । एपिएफले यही विषयलाई लिएर एन्फाको अनुशासन कमिटीमा उजुरी दिएको थियो ।
त्यसपछि गत पुस १५ गते एन्फाको अनुशासन कमिटीको बैठकले थ्रीस्टारसँगै क्लबका दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई कारवाही गर्ने निर्णय गरेको हो । थ्रीस्टारले अवैधानिक विदेशी खेलाडी खेलाएको भन्दै एन्फाले दुई खेलाडीलाई ५०–५० हजार जरिवाना र थ्रीस्टारलाई ३ लाख जरिवाना गरेको थियो ।
तर एपिएफले भने त्यो कारवाही र निर्णय अपुरो भएको बताएको छ । त्यो निर्णायक मानिएको जावलाखेल र थ्रीस्टार बीचको खेल नतिजा पनि उल्टाउनु पर्ने एपिएफको माग छ । अर्थात थ्रीस्टारले १–० ले जितेको त्यो खेल नियमअनुसार जावलाखेलको पक्षमा ३–० को नतिजा जानुपर्ने एपिएफको अडान छ ।
यस्तो थियो लिगको घट्नाक्रम
शहिद स्मार ए डिभिजन लिग अन्तर्गत गत जेठ २८ गते दशरथ रंगशालामा भएको थ्रीस्टार र जावलाखेल बीचको त्यो निर्णायक भिडन्तमा थ्रीस्टारलाई जित्नैपर्ने दबाब थियो । नत्र, रेलिगेशनमा पर्ने डर पनि थियो । सोही खेलको नतिजाले एपिएफको ए डिभिजनको भविष्य पनि निर्धारण हुने पक्का थियो ।
सो खेल १–० ले थ्रीस्टारको पक्षमा गर्यो । यसो हुँदा थ्रीस्टार रेलिगेशनबाट जोगियो भने एपिएफ क्लब इतिहास मै पहिलोपटक रेलिगेशनमा पर्यो । २६ खेलबाट ३२ अंक जोड्दै थ्रीस्टार लिगतालिकाको नवौं स्थानमा रह्यो भने ३० अंक जोडेको एपिएफ १२औं स्थानमा रहेर रेलिगेशनमा पर्यो ।
त्यसपछि एपिएफले थ्रीस्टार क्लबले भिषा सकिएका दुई अवैधानिक खेलाडीलाई खेलाएको भन्दै एन्फामा उजुरी हालेको थियो । आवश्यक छानबिन पछि एन्फाले थ्रीस्टारको गल्ती ठहर गर्दै क्लब र खेलाडीलाई कारवाही गरे पनि एपिएफ त्यो कारवाहीबाट असन्तुष्ट छ ।
एपिएफले जावलाखेल र थ्रीस्टार बीच भएको सो खेलमा स्पष्ट छानविनसहित अन्तर्राष्ट्रिय नियम अनुसार थ्रीस्टारलाई कारवाही हुनुपर्ने अडानमा छ । साथै त्यो नतिजा जावलाखेलको पक्षमा जानुपर्ने एपिएफको माग छ । त्यसो भएमा एपिएफ रेलिगेशनबाट जोगिनेछ भने थ्रीस्टार रेलिगेशनमा पार्नेछ ।
त्यसकै लागि एपिएफ अब अपिल कमिटीमा जान लागेको हो । साथै एपिएफले अपिल कमिटीबाट पनि निर्णय चित्त बुझ्दो नभए अन्य निकायहरुमा पनि जाने बताएको छ ।