
भरतपुर, । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा शुरु स्व. दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा अभिषेक चर्च रजहर र चितवन भेट्रान निलोले विजयी सुरुवात गरेका छन ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा अभिषेक चर्च रजहरले वीरगन्ज सिटी भेट्रानलाई २-१ ले हरायो । अभिषेक चर्चको जितमा हरिप्रसाद पाण्डे र कप्तान सुकलाल तामाङले एक-एक गोल गरे । वीरगन्जका शिवकुमार चौधरीले एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा हरिको गोलमा अभिषेक चर्चले अग्रता लिएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै शिवले वीरगन्जका लागि बराबरी गोल फर्काएका थिए । तर दोस्रो हाफको २४ औं मिनेटमा सुकलालले गोल गर्दै अभिषेक चर्चको जित निश्चित गरे । अभिषेक चर्चका हरि म्यान अद फि म्याच भए ।
यस्तै दोस्रो खेलमा चितवन निलोले हेटौंडा भेट्रानलाई १-० ले पाखा लगायो । चितवनले उपहार गोलमा जित हात पार्यो । चितवनका गोलरक्षक नवराज क्षेत्री म्यान अद दि म्याच भए ।
प्रतियोगितामा मंगलबार चार खेल हुनेछन् । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ ।