
बिराटनगर । बिहीबारदेखि शुरु भएको आठौं बिराट गोल्डकप अन्तराृष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा पाहुना टोली रोयल थिम्पु कलेज एफसी, भुटानले विजयी शुरुवात गरेको छ ।
बिराटनगर स्थित शहिद रंगशालामा भएको उद्घाटन खेलमा रोयल थिम्पुले विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंमाथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दै विजयी शुरुवात गरेको हो ।
रोयल थिम्पुका लागि किन्ले, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरुङ्ले गोल गरे । खेलमा रोयल थिम्पु कै किन्जाङ तेन्जिङ म्यान अफ द म्याच घोषित भए ।
यो जितसँगै रोयल थिम्पु क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत १६ गते शुक्रबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र न्युरोडटिम (एनआरटी), काठमाडौं बीच हुनेछ ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सामाजिक विकास मन्त्री राजेन्द्र कार्की लगायतका अतिथीहरुले संयुक्तरूपमा गरेका थिए ।
बिराट गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।