
गोलबजार । चात्या सा पुस्तकालय, दमक झापा यहाँ जारी सातौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा चात्या सा पुस्तकालयले बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
चात्या सा पुस्तकालयको जितमा जय गुरुङ्गले पेनाल्टी मार्फत गरेको एक मात्र गोल टोलीलाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने चात्या सा पुस्तकालय कै गोलरक्षक आयुष लिम्बु घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत २० गते मंगलबारको दोस्रो सेमिफाइनल खेल मुनाल फुटबल क्लब, मोरङ र गुरुधाम फुटबल क्लब, सिरहा बीच हुने आयोजकले जानकारी दियो ।
गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २२ गतेका दिन हुनेछ ।