News दोस्रो इभोलुशन कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

बुटवल । इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा यही बैशाख २९ गतेदेखि शुरु हुन गईरहेको दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा बैशाख २९ गतेका दिन डिवाइसी र फर्साटिकर युथ क्लब भिड्ने छन् । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पुनले जानकारी दिए ।

त्यसबाहेक क्लबले प्रतियोगिता कै उद्घाटन कै दिन बिहान ८ बजेदेखि खुला रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको अध्यक्षले बताए । खेलकुदसँगै सामाजिक कार्यलाई पनि निरन्तरता दिने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पुनको भनाई थियो ।

साथै प्रतियोगिता सफलताका सम्पन्न गर्न आयोजकले सबै शुभेच्छुक, खेलप्रेमी र सहयोगीहरुसँग अनुरोध पनि गरेको छ । स्मरण रहोस, प्रतियोगिताको पहिलो संस्करण लिस्नु युवा क्लब, कोटिहवाले जितेको थियो ।

Post Comments