News भेट्रान्स फुटबलः विराट मेगा सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । विराट मेगा भेट्रान्स एफसी मोरङ यहाँ जारी स्व दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा सुनसरीको भरौल भेट्रानविरु टाइब्रेकरमा जित दर्ता गर्दै विराट मेगा सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले समान १-१ गोलको बराबरी गरेका थिए । खेलको ९ मिनेटमै विराट मेगाका तालबहादुर तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । तर, परिवर्तित खेलाडी देउबहादुर लिम्बूले दोस्रो हाफको १७ मिनेटमा गोल गरेर भरौललाई बराबरीमा फर्काएका थिए ।

खेलको निर्णय लिन टाइब्रेकर रोजिएपछि विराट मेगा ४-२ गोलअन्तरले विजयी बन्यो । विराट मेगाका लागि डिल्लीप्रसाद बास्कोटा, निराजन बस्नेत, मनोजकुमार मण्डल र अरुण लामाले गोल गरे भने महेन्द्र खवासको प्रहार गोलपोस्टमा लाग्दै भित्रियो ।

यस्तै, भरौलका लागि अनिलकुमार चुँडाल र सुरज प्रधानको प्रहारमात्र गोलमा परिणत भएको थियो । सरोज बस्नेत र याकुमार मगरको प्रहार विराटका गोलरक्षक देवीबहादुर खनालले रोकेका थिए । उनी प्लेयर अफ दी म्याच बने ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुनेछ । मंगलबार चन्द्रगढी र झिलझिले भेट्रान एफसीबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठ स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । १५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

Post Comments