
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक समूह चरणको खेलतर्फ नेपालको एपिएफ फुटबल क्लबले उज्वेकिस्तानको नसाफसँग भिड्दा एपिएफले एउटा ऐतिहासिक र विशेष उपलब्धी पनि हासिल गर्नेछ ।
अर्थात् नेपाली क्लब फुटबलको इतिहास मै एएफसी च्याम्पियन्स लिग खेल्ने एपिएफ पहिलो र एक्लो टोली समेत बन्नेछ । मलेसियन शहर सबाह स्थित लिकास स्टेडियममा हुने समूह सी तर्फको पहिलो खेलमा आज एपिएफ र नसाफ भिड्दै छन् । जुन खेल स्थानीय समयअनुसार बेलुका ८ बजेदेखि शुरु हुनेछ ।
केही दिन अघि मात्र मलेसिया पुगेको एपिएफले प्रतियोगिता कै लागि भनेर लामो समय तयारी समेत गरेको थियो । भरपर्दा खेलाडी साबित्रा भण्डारी युरोपियन क्लबमा आवद्ध भएपछि उनको अभाव भने एपिएफलाई पक्कै पनि खट्किने छ । यद्यपि टोलीमा राष्ट्रियस्तरका अन्य राम्रा खेलाडीहरुको बाहुल्यता पनि छ ।
समग्रमा आजको खेल जित्न सके एपिएफलाई अर्को इतिहास रच्ने अवसर पनि जुर्नेछ । समूह सी मा एपिएफ र नसाफ बाहेक घरेलु टोली साबह पनि रहेको छ । समूहको शिर्ष टोली च्याम्पियन्स लिगको निर्णायक समूह चरणका लागि छनौट हुनेछ ।