
चितवन । हानामी भरतपुर फुटबुल क्लबको आयोजनामा आउँदो असोज ३ देखि १२ गतेसम्म आयोजना हुन गईरहेको दोस्रो चितवन गोल्डकपलाई बागमती प्रदेश सरकारको पनि विशेष साथ र सहयोग रहने भएको छ ।
प्रतियोगिता आयोजनालाई लिएर चितवन गोल्डकपको आयोजक टोलीले प्रस्तावपत्रसहित बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासँग भेटवार्ता गरेको थियो । भेटवार्ता सकरात्मक र फलदायी रहेको चितवन गोल्डकपका संयोजक ध्रुव भुषालले बताए ।
भेटवार्तामा मुख्यमन्त्री लामाले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न प्रदेश सरकारबाट सक्दो साथ र सहयोग मिल्ने प्रतिबद्धता जनाएको संयोजक भुषालले बताए । साथै उनले प्रतियोगिता सम्पन्न गर्न मुख्यमन्त्री लामाले आयोजक टिमलाई अग्रिम शुभकामना पनि दिएको संयोजक भुषालले जानकारी दिए ।
स्मरण रहोस, नेपाल प्रहरी शिक्षालय (तालिम केन्द्र) को मैदानमा हुने प्रतियोगितामा ए डिभिजन र मोफसलका गरी कुल १० टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिताको सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।