News नेपाललाई घरमै उपाधि जित्ने अवसर
गोलनेपाल

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपाल र गत संस्करणको उपविजेता बंगलादेश उपाधिका लागि भिड्दै छन् । रमाइलो कुरा त, यसै प्रतियोगितामा यी दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् ।

समूह चरणतर्फ पनि एउटै समूहमा परेका यी दुई टोली बीचको खेलमा नेपालले नतिजा २–१ ले आफ्नो पक्षमा पारेको थियो । घरेलु मैदान र घरेलु समर्थकको साथ पाएको नेपालले समूह चरणकै प्रदर्शनलाई दोहोर्याउँदै घरेलु मैदानमै घरेलु समर्थक माझ उपाधि जित्ने योजनामा हुनेछ ।

त्यसो त बंगलादेश पनि फाइनल खेललाई लिएर उत्साहित छ । घरेलु टोली विरुद्ध खेल्न परे पनि बंगलादेशका खेलाडीहरु दबाब झेलेर खेल्न मानसिक रुपमा तयार छन् । त्यसो त, नेपाल र बंगलादेशको सेमिफाइनल जित उस्तै उस्तै रह्यो ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले साविक विजेता भारतलाई हराउँदा दुवै खेलको नतिजा टाईब्रेकरबाट लिनुपरेको थियो । त्यतिमात्र नभई निर्धारित समयको खेल दुवै सेमिफाइनलमा समान १–१ को बराबरीमा टुंगिएको थियो ।

एन्फा कम्प्लेक्समा आज २ः३० बजेदेखि शुरु हुने फाइनल खेल नेपाल र बंगलादेश दुवैका लागि महत्वपूर्ण छ । दुवै टोलीको लक्ष्य उपाधि जितेर देशलाई र देशवासीलाई खुशी दिन चाहन्छन् । त्यसकै लागि नेपाल र बंगलादेश तयार पनि छन् । र, आजको फाइनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने निश्चित पनि छ ।

Post Comments