News समपुर्ण २२औं लिस्नु कपको सेमिफाइनलमा
सुरज राना मगर

कोटिहवा । संघर्षपुर्ण र सनसनीपुर्ण जितका साथ समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बुधबार भएको पहिलो क्वाटरफाइनलतर्फ समपुर्णले कपिलवस्तु–११ लाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा निर्धारित समयतर्फ कपिलवस्तुका लागि निराजन शाही र मनिष पुनले गोल गरेका थिए भने समपुर्णका लागि पुर्ण गुरुङ र सिर्जन क्षेत्रीले गोल गरेका थिए ।

त्यसपछिको टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा सडन डेथमा समपुर्णले कपिलवस्तुमाथि ३–२ को जित निकाल्न सफल भयो । खेलमा समपुर्ण कै अभिषेक लामा वाइबा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भदौ २७ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर र सञ्जिवनी युवा क्लब, देवीनगर बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।

Post Comments