कोटिहवा । संघर्षपुर्ण जितका साथ झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा झरनाले पाल्पा–११ माथि २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बर्षाले बिथोलिएको खेलमा अग्रता भने पाल्पाले लिएको थियो । खेलको ५१औं मिनटमा सुशिल थापाको गोलबाट पाल्पाले खेलमा अग्रता बनाएको थियो । यद्यपि झरनाले खेलमा पूनःरागमन गर्यो ।
झरनाका लागि ७६औं मिनटमा कप्तान कुलदिप कार्कीले पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यसको तीन मिनट लगतै अनिल खड्काले झरनाका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।