
कुञ्जलापुर । झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा वार्षिक रुपमा हुँदै प्रतिष्ठित झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको ३६औं संस्करण बुधबारदेखि शुरु भएको छ ।
उद्घाटन खेलमा गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवलले उत्कृष्ट जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा गोर्खा ब्वाईजले साविक विजेता भूपू सैनिक जवई स्र्पोटिङ क्लब, सालघारीलाई ६–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेलमा गोर्खा ब्वाईजका कप्तान निराजन खत्री म्यान अफ द म्याच चुनिए । यो जितसँगै गोर्खा ब्वाईज क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असोज ३ गते बिहीबारको खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र कपिलवस्तु–११ बीच हुने खेल संयोजक विजय पुनले जानकाी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले गरेका थिए । स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।