
काठमाडौं । नेपाली राष्ट्रिय यु–१७ र यु–२० फुटबल टोलीले आज क्रमशः साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनौटतर्फ आफ्नो दोस्रो खेल खेल्दैछन् ।
भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपतर्फ नेपालले आज श्रीलंकाको सामना गर्दैछ । जुन खेल नेपाली समयअनुसार १ः४५ बजेदेखि शुरु हुनेछ । आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित हुन पुगेको नेपाललाई आज जित्नै पर्ने दबाब हुनेछ ।
सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई आज श्रीलंकासँग खेल महत्वपूर्ण पनि छ । आजै हुने समूह बी को दोस्रो खेलमा आयोजक भुटानले पाकिस्तानको सामना गर्नेछ । त्यसो त, भुटानले पनि आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ५–१ को उत्कृष्ट जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाईसकेको छ । घरेलु मैदान र समर्थकका बीच भुटान थप आत्मविश्वासी पनि छ ।
नेपाल भर्सेज चाइनिज ताइपेई
त्यस्तै एएफसी यु–२० एसियन कप छनौटमा नेपाललाई आज घरेलु टोली चाइनिज ताइपेईको चुनौति हुनेछ । नेपालर ताइपेई दुवै टोली पहिलो जितको खोजीमा समेत हुनेछन् । यी दुई टोली बीचको खेल नेपाली समयअनुसार ४ः४५ बजेदेखि शुरु हुनेछ ।
छनौट प्रतियोगिताको समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ को हार बेहोर्दा ताइपेईले बहराईनसँग १–० को पराजय बेहोरेको थियो । समूह बी तर्फ आजै हुने अर्को खेलमा कम्बोडियाले बलियो उज्वेकिस्तानको सामना गर्दैछ ।