
कुञ्जलापुर । उत्कृष्ट जित हात पार्दै झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको सातौं प्रिक्वाटरफाइनलतर्फ झरनाले देवदह ब्वाईज, देवदहलाई ५–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेलमा झरनाका लागि एरोन थापाले दुई गोल गर्दा जय गुरुङ, रोहित सुनार र दिपेश आलेले एक–एक गोल गरे । पराजित देवदहका लागि भने सुरज थारुले एक मात्र गोल गरेका थिए ।
खेलमा झरनाका जय गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज ९ गते बुधबारको अन्तिम प्रिक्वाटरफाइनल खेल फुलबारी गाईज, बुटवल र भैरव स्पोर्टस क्लब, नवलपरासी बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।
स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।