
काठमाडौं । अन्तर्राष्ट्रिय युथ फुटबलमा आज नेपालको दुई युथ टोलीले महत्वपूर्ण मानिएको दुई फरक खेलमा फरक प्रतिद्वन्द्वीहरुको सामना गर्दैछ । एएफसी यु–२० एसियन कप छनौटतर्फ समूह बी मा रहेको नेपालले आज आफ्नो तेस्रो खेलमा बलियो उज्वेकिस्तानको सामना गर्दैछ ।
चाइनिज ताइपेई स्थित न्यु ताइपेई सिटीमा नेपाली समयअनुसार १२ः४५ बजेदेखि शुरु हुने आयोजको खेल नेपालका लागि महत्वपूर्ण छ । पहिलो खेलमा कम्बोडियासँग हारेको नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई हराउँदै लयमा फर्किएको थियो ।
समूह चरणमा आफ्नो सम्भावना कायम राख्न नेपाललाई आफु अनुकुल नतिजा ल्याउनु पर्नेछ । यद्यपि नेपालका लागि त्यो त्यति सहज भने हुने छैन । नेपाललाई ४–१ ले हराएको कम्बोडियालाई उज्वेकिस्तानले पहिलो खेलमै ७–० ले हराएको थियो । नेपालका लागि उज्वेकिस्तानसँगको खेल त्यति सहज नभए तापनि नेपालको लक्ष्य निश्चित वा आफु अनुकुल नतिजा ल्याउनु हुनेछ ।
थिम्पुमा भुटानसँग खेल्दै नेपाल
त्यस्तै साफ यु–१७ च्याम्पियनसिपतर्फ नेपालले समूह चरणको अन्तिम तथा निर्णायक खेलमा आज आयोजक भुटानको सामना गर्दैछ । बेलुका ५ः४५ बजेदेखि शुरु हुने आजको खेल नेपालका लागि सेमिफाइनल प्रवेशको निर्णायक खेल पनि हुनेछ ।
समूह बी मा नेपालसँगै भुटान र पाकिस्तानको सेमिफाइनल प्रवेशको सम्भावना कायम छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । भुटानले पनि पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने पाकिस्तानसँग बराबरी खेलेको थियो ।
दुई खेलबाट ४–४ अंक जोडेका भुटान र पाकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल समूह बी को तेस्रो स्थानमा छ । अंकविहीन श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले पनि आज समूह बी बाट नेपालसँगै भुटान र पाकिस्तानका लागि पनि निर्णायक खेल हुनेछन् ।
उता समूह ए बाट भने साविक विजेता भारतसँगै गत संस्करणको उपविजेता बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाई सकेका छन् ।