News जनज्योति स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कपको अन्तिम चारमा
सुरज राना मगर

कुञ्जलापुर । संघर्षपुर्ण जितका साथ जनज्योति क्लब, डिंगरनगर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कपको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा जनज्योतिले फुलबारी गाईज, बुटवललाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलमा जनज्योतिका दिवस छन्त्याल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज १५ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक झरना स्पोर्टस क्लब, कुञ्जलापुर र कपिलवस्तु–११ बीच हुने खेल संयोजक विजय पुनले जानकारी दिए ।

स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १७ गतेका दिन हुनेछ ।

Post Comments