
तिलोत्तमा । नविन ज्योति क्लब र क्रिकेटर्स फुटबल क्लब यहाँ जारी दोस्रो नव जिवन कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार नै सम्पन्न दुई सेमिफाइनल खेलबाट जित निकाल्दै नविन ज्योति र क्रिकेटर्स फाइनलमा भिड्ने पक्का भएको हो ।
तिलोत्तमा–६, दश नम्बर स्थित आयोजक कै नव जिवन खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा नविन ज्योतिले चपरहट्टी फुटबल क्लबलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो । नविन ज्योतिका लागि निरज थापाले दुई गोल गर्दा अनिल क्षेत्री, सुन्दर बगाले र रिम्बा सुनारले एक–एक गोल गरे । खेलमा नविन ज्योतिका अनिल क्षेत्री म्यान अफ द म्याच समेत चुनिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा क्रिकेटर्सले आयोजक नव जिवन युवा क्लबलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो । क्रिकेटर्सका लागि सुजल क्षेत्री र सुजल चिदीले एक–एक गोल गरे । खेलमा क्रिकेटर्स कै सुजल चिदी म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत असोज १६ गते बुधबार नै हुने फाइनलमा नविन ज्योति क्लब र क्रिकेटर्स फुटबल क्लब उपाधिका लागि भिड्ने खेल संयोजक कृष्ण भुर्तेलले जानकारी दिए ।
नव जिवन युवा क्लब, तिलोत्तमा–६, दश नम्बर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।